गणतन्त्रले जनतालाई न्यायधीश बनाएको छः प्रधानमन्त्री ओली
१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरु तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैंले मतदान गरेर प्रतिनिधिहरु चुन्न पाउने गरेको बताउनु भयो । गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको उहाँको भनाई छ । यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अध्याँरोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुष्प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरुको आचरण र व्यवहारमा सुधारको आवश्यकता भएपनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणाली मार्फत मात्र गर्न सकिने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुने र भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले यसमा अझै सुधार ल्याउन आवश्यक रहेको र सरकार सक्रिय रहेको बताउनु भयो ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभइ यसको मालिक जनता भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले इतिहास स्मरण गर्ने र मनन गर्नेकुरा मात्रै भएको भन्दै वर्तमानमै बाँच्नुपर्ने बताउनु भयो ।













