राजावादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेः प्रधानमन्त्री ओली
१८ वैशाख, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताउनुभएको छ ।
१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताउनु भयो । उहाँले अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गर्नुभयो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनीहरूले गरेको अपराधमाथि प्रश्न नउठाएको र छानबिन अझै नगरेको बताउनु भयो । उहाँले राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले केही नहुँदा यस्तो अराजक मच्चाउनेहरूले कदम कदाचित शासन चलाए के हुँदो हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले राजावादीहरूले राम्रो सहन नसक्ने र विरोध गरिहाल्ने बताउँदै यस्ता विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।













