केही महिनामै राजसंस्था पुनःस्थापना हुने अध्यक्ष थापाको दाबी
१५ वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गर्नुभएको छ ।
सोमवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गर्नुभयो । उहाँले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताउनुभयो ।
सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि पनि उहाँले आग्रह गर्नुभयो । अध्यक्ष थापाले राजसंस्था पुनस्र्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताउनु भयो ।
उहाँले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाउनुभयो ।













