नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरीः उपराष्ट्रपति यादव
१९ फागुन, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधिन अर्थतन्त्रको विकास मार्फत अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सबै मित्रराष्ट्रहरुसँग मित्रवत दुई पक्षिय सम्बन्ध, जनस्तरबीचको सम्बन्धको पक्षमा रहँदै आफ्नो विकासका बहुआयामिक क्षेत्रहरुमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताउनु भयो ।
उहाँले जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतिहरु थपिएको बताउनु भयो ।संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशिलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने उद्देश्यबाट परिलक्षित रहेको उहाँको भनाई छ । उपराष्ट्रपति यादवले उद्देश्य र लक्ष्य प्राप्त गर्न सबैको इमान्दारिता र राष्ट्र प्रेम अनिवार्य एवं सर्वोपरी शर्तहरु रहेको बताउनु भयो ।
उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, सुशासन, मानव अधिकार प्रवद्र्धनका लागि साझा प्रतिवद्धताका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामुहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने उहाँको भनाई छ ।
उपराष्ट्रपति यादवले समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।
उपराष्ट्रपति यादवले परराष्ट्र नीतिलाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रगाढ एवं बलियो बनाउन निरन्तर प्रयासको खाँचो रहेको बताउनुभयो ।













