मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा होइनः प्रधानमन्त्री ओली
१४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताउनुभएको छ ।
सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक र सामाजिक रुपमा अफ्ठ्यारोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पार्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाउनुभयो । सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको प्रधानमन्त्री ओलीको भनाई छ ।
उहाँले केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताउनुभयो । उहाँले कसैले बिलौना गर्दैमा सरकार नढल्ने पनि स्पष्ट पार्नुभयो । संसदका दुई ठूला दल मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसपछिको जनताको निराशा भयानक हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याइएको पनि दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि अध्यादेशमार्फत २९ वटा कानूनहरु परिवर्तन गरेको जिकिर गर्नुभयो । उहाँले गैरसहकारी मान्छेहरु सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउनु भयो ।
उहाँले सहकारीहरु मिलेर सानो पुँजी जम्मा गर्दै ठूलो÷ठूलो कामहरु गर्न सकिने बताउनु भयो । उहाँले संसदको हिउँदे अधिवेशनमा सरकारले सदनलाई विजनेस दिने कुरामा दृढ रहेको समेत उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने जिकिर गर्नुभयो ।













