चीन सरकारसँग ऋण लिनेसम्बन्धी सम्झौता भएको छैनः परराष्ट्रमन्त्री देउवा
२९ पुस, काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पार्नुभएको छ ।
सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै उहाँले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उहाँले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताउनुभयो । मन्त्री देउवाले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको उल्लेख गर्नुभयो । उहाँले चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने बताउनुभयो ।
त्यसैगरी परराष्ट्रमन्त्री देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री देउवाले विपिन जोशीको रिहाइका लागि अधिकतम रुपमा पहल गरिरहेको बताउनुभयो । हमासले पहिलो चरणमा नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन आफूले विदेशी समुदाय र सरोकारवालाहरुसँग आग्रह गरिरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी मन्त्री डा राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क नेपालले मात्र चाहेर सक्रिय बनाउन नसकिने स्पष्ट गर्दै तर पनि सार्कलाई गति दिनका लागि पहल भने जारी राखिएको स्पष्ट गर्नुभयो ।













