राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरुको आपत्ति
१० चैत्र, काठमाडौँ । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरुले आपत्ति जनाएका छन् ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विघटित आयोगका अध्यक्ष केशव निरौलाले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै निन्दा गर्नुभएको हो । उहाँले सुकुम्वासीहरुको समस्या समाधान हुन नदिने गरी सरकारले सो आयोग खारेज गरेको आरोप समेत लगाउनु भयो । उहाँले संविधान बमोजिम बनेको सो आयोगलाई पूरा कार्यकाल काम गर्न नदिई सरकारले सुकुम्वासीहरुको नाममा राजनीति गरिरहेको जिकिर पनि गर्नुभयो । निरौलाले सरकारको सो निर्णयले सुकुम्वासी, अव्यवस्थित बसोवासीहरुलाई धोका दिने काम गरेको बताउनु भयो ।
गत चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले तत्काल पुनर्गठन गर्नेगरी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गठन गरेको सो आयोग खारेज गर्ने निर्णय गरेको थियो ।













