राजनीतिक स्थिरता बिना देशमा सुशासन कायम हुँदैनः पूर्व प्रधानमन्त्री भट्टराई

स्वर्णिम खबर
७ चैत्र २०८०, बुधबार १९:०९

७ चैत्र, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक स्थिरता बिना देशमा सुशासन कायम नहुने बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म भ्रष्टाचारको अन्त्य नहुने जिकिर गर्नुभयो । उहाँले कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टहरु सरकारमा भएको बेलामा काँग्रेस भ्रष्टाचारी भन्ने प्रवृत्ति रहेको बताउनु भयो । उहाँले आपसमा मिल्दाखेरी सबै साफ हुने प्रवृत्ति पनि रहेको भन्दै यसरी भ्रष्टाचारको अन्त्य नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष भट्टराईले सबै उच्च पदस्थको छानविन र कारबाहीसम्म गर्न सक्नेगरी शक्तिशाली जनलोकपाल गठन गरेर भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष भट्टराईले आफूहरुको पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने भनि भ्रमपूर्ण प्रचारबाजी गरिएको बताउनुभयो । उहाँले पार्टीका केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका बताउनु भयो । अध्यक्ष भट्टराईले शान्ति प्रक्रियालाई टुग्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि आफूहरु पुरानो पार्टीसँग सहकार्य गर्न तयार रहेपनि उनीहरुसँग मिस्सिने कुनै मनशाय नरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल समाजवादी पार्टी आफ्नो सिंगो अभियानलाई छोडेर माओवादी केन्द्रसँग एकता नगर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष भट्टराईले पुराना पार्टीहरुसँग चुनावी तालमेल गरेका कारण जनतामा भ्रम परेको भन्दै अब पार्टीलाई पुरानो पार्टीहरुको संसर्गबाट टाढा राख्ने बताउनुभयो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*