सरकारको काम कारबाहीप्रति प्रधानमन्त्री स्वयम् असन्तुष्ट

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री दाहालले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताउनुभएको हो । उहाँले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको जिकिर गर्नुभयो । उहाँले मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६ सय ३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २ सय ४५ अझै शुरु नै हुन नसक्नुले कार्य क्षमताामाथि नै प्रश्न उठेको बताउनु भयो ।
यसैगरी प्रधानमन्त्री दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताउनुभयो । उहाँले नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको जिकिर गर्नुभयो । उहाँले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुको अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौति रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले संघीय निजामति ऐन संसदमा प्रश्तुत गर्ने तयारीमा रहेको समेत बताउनुभयो ।