इजरायल आक्रमणमा परि १२ नेपाली सम्पर्क विहीन छन्ः परराष्ट्रमन्त्री साउद
२१ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्क विहीन भएका बताउनुभएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताउनुभएको हो । सो स्थानमा १७ जना विद्यार्थीहरु रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाईते भइ स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरुको अवस्थाको यकिन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । उनीहरुको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बताउनु भयो । मन्त्री साउदले सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने जानकारी दिनुभयो ।
मन्त्री साउदले उनीहरुको सुरक्षाको प्रत्याभुति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको बताउनु भयो । परराष्ट्र मन्त्रालयले नेपाली राजदुतावासलाई नेपालीहरुको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रुपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिइसकिएको उहाँले बताउनुयभो ।
मन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिएको भन्दै सरकार इजरालयमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिवद्ध रहेको बताउनु भयो ।













