बागमती प्रदेशको हिउँदे अधिवेशन चैत्र २४ गते आह्वान गर्न सिफारिस

स्वर्णिम खबर
२२ चैत्र २०८२, आईतवार २०:५०

२२ चैत्र, हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान गर्न सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन २४ गते मङ्गलबार आह्वान गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नेछन् । पछिल्लो पटक गत भदौ १७ गते बसेको बैठक हालसम्म बस्न सकेको थिएन ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रदेशसभा सचिवालय, प्रदेशसभा हल सहितका संरचना जलेपछि संसद् बैठक बस्न नसकेको हो । प्रदेशसभा बैठक बस्न नसकेपछि मंसिर ३ मा प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको थियो ।
प्रवक्ता तामाङका अनुसार हाल अस्थायी रूपमा सभा सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभा हललाई मर्मत गरेर तयार गरिएको छ ।
यसअघि बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ दलभित्र सहमति जुट्न नसक्दा प्रदेशसभा अनिश्चित बन्दै आइरहेको थियो । प्रदेशसभा बैठक सुरू भएको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने भएकाले सरकार त्यसको तयारीमा पनि जुटेको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केही दनिअघि बसेको संसदीय दलको बैठकले सभामुखमा दाबी गर्ने निर्णय गरिसकेको छ । सत्ता साझेदार दल नेकपा एमालेले पनि सभामुख पदमा दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा पनि सभामुख पाउनुपर्ने अडानमा कायम रहेको छ ।
जेनजी प्रदर्शन चर्किएकै समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख भुवनकुमार पाठकले १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएपछि उक्त पद रिक्त छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*