हेटौँडामा बाइपास सडक बनाउने तागत राख्छुः मुख्यमन्त्री बानियाँ
८ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडामा २५ गज सडक विस्तारका सन्दर्भमा आफुले पहिलेदेखि नै १६ मिटर कायम गर्नुपर्ने पक्षमा आवाज उठाउँदै आएको दाबी गर्नुभएको छ ।
विगतमा डोरमणि पौडेल नेतृत्वको सरकारमा प्रतिपक्षी दलमा रहँदा नै आफुहरु १६ मिटर सडक बिस्तारको पक्षमा रहेको उहाँले उल्लेख गर्नुभयो । सडक विस्तारबाट प्रभावित घरधनी तथा व्यवसायी र बागमती प्रदेश सरकारबीच शुक्रबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले हेटौंडा बजारभित्र सडक विस्तार गर्नुभन्दा बाइपास सडक निर्माणमा जोड दिनुभयो । बाडपास सडक बनाउँदा स्थानीयहरुको समस्या सुन्न तयार रहेको बताउँदै मुख्यमन्त्री बानियाँले बाडपास सडक प्राविधिक रुपले बनाउन तागत राख्ने व्यक्ति आफु भएको दाबी समेत गर्नुभयो । भविष्यमा उक्त सडक निर्माण गरेरै देखाउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।मुख्यमन्त्री बानियाँले दलिय सरकार हुँदा जनताको सम्पति जोगाएको बताउँदै निर्वाचनमुखी सरकारले अधिकार नहुँदा पनि सडक विस्तार गरेको आरोप लगाउनुभयो । उहाँले जनताको समस्याको समाधान राज्यले दिनुपर्ने बताउनुभयो । राज्य कठोर हुन सक्छ, तर निर्दयी हुन पाइँदैन भन्दै उचित व्यवस्था बिना संरचना भत्काइएको प्रति मुख्यमन्त्री बानियाँले आपत्ति जनाउनुभयो । अप्राकृतिक रुपमा बनेको सरकारले नागरिकलाई घरबारविहीन हुने अवस्थामा पु¥याएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । राज्यले वैकल्पिक व्यवस्थापन गरेर मात्रै सडक बिस्तार गर्नुपनमा जनता उठिबास लगाउने कार्य गरेको उहाँको आरोप थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी प्रभावितहरूले उचित मुआब्जा, कानुनी समाधान र न्यायोचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका थिए । कान्तिलोकपथ प्रभावित गहन खतिवडाले राज्यले जनतालाई उठिबास गराउने गरी विकास गर्न नहुने धारणा राख्नुभयो । जनताको सम्पत्तिमाथि डोजर चलाउनु सुखद नरहेको उहाँको बुझाई छ । तत्काल डोजर नचलेपनि कान्तिलोकपथ सडक प्रभावितलाई पनि राज्यले अघोतिषत रुपमा सुकुम्बासी बनाउन लागेको खतिवडाले आरोप लगाउनुभयो ।
त्यस्तै, समिति संयोजक राजकुमार न्यौपानेले लामो समयदेखि पीडितहरूको समस्या सुनुवाइ नभएको गुनासो गर्दै, केन्द्रिय सरकारसँग समन्वय गरेर सडक विस्तार प्रभावितहरूको समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुख्यमन्त्री बानियाँ समक्ष दीर्घकालीन समाधानको लागि पहल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोदसिंह रानाभाट, र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतले सहभागिता जनाएका थिए ।












