व्यवस्थाको विरोध गर्ने भए तलब भत्ता नलिन राप्रपा र रास्वपालाई मुख्यमन्त्री बानियाँको चुनौती
२१ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्था भित्र छिरेर चुनाव लड्नेहरुनै व्यवस्थालाई चुनौती दिन थालेको बताउनुभएको छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि जनताको अवस्थामा परिवर्तन आएपनि केही तत्वहरुले गलत भ्रम फैलाइरहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बुधबार पार्टी कार्यालयमा भएको बधाई, स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले राप्रपा र रास्वपा जस्ता दलहरुले संघीयता र गणतन्त्रको विरोध गरिरहेको आरोप लगाउनुभयो । ठुलो संघर्ष र बलिदानबाट प्राप्त व्यवस्थाभित्र रहेर तलब भत्ता खाने तर व्यवस्थालाई बदनाम गराउन खोज्नेहरुसंग जनता सर्तक रहनुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले व्यवस्थालाई नमान्ने हो भने तलब भत्ता नलिन राप्रपा र रास्वपालाई चुनौती समेत दिनुभयो ।

मुख्यमन्त्री बानियाँले जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्ने बताउनुभयो । आफु मुख्यमन्त्री हुनको लागि मात्र नभई जनतालाई सेवा दिनको लागि आएको उहाँले जिकिर गर्नुभयो । समग्र बागमती प्रदेश बासी र पार्टी पंक्तिहरुको शिर नझुकाउने समेत मुख्यमन्त्री बानियाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफु जति दिन मुख्यमन्त्री भएपनि जनताको सेवामा सधै तत्पर रहने समेत बताउनुभयो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका विना विभागीय मन्त्री शिवराज अधिकारी, खानेपानी, उर्जा तथा सिचाई मन्त्री कृष्ण कुमार तामाङ लगायतको आतिथ्यता रहेको थियो ।















