गल्ती स्वीकार्दै रमाइलो इभेन्ट्सले माफी माग्यो

स्वर्णिम खबर
२३ माघ २०८२, बिहीबार १९:०४

२२ माघ, हेटौँडा । बुधबार साँझ भएको नेपथ्यको कन्सर्ट आयोजना गरेको रमाइलो इभेन्ट्सले गल्ती स्वीकार्दै माफी मागेको छ ।
पत्रकार महासंघलाई १५ वटा प्रेस पठाएको भनेर गलत प्रचार गरेको रमाइलो इभेन्ट्सका प्रतिनिधिले आफूहरुबाट गल्ती भएको स्वीकारेको हो । कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गरेर मिडियाको साथ खोजेको आयोजकले कन्सर्टको दिन भने पत्रकारलाई रिपोर्टिङमा रोक लगाउँदै पत्रकार महासंघलाई पास पठाइसकेको गलत हल्ला फैलाएको थियो । बिहीबार पत्रकार महासंघ मकवानपुरको अगुवाईमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा रमाइलो इभेन्ट्सका साकार शिवाकोटी, सजन न्यौपानेसहितको टोलीले गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।
‘पत्रकारहरुको मानमर्दन गर्ने हाम्रो नियत थिएन । जानअनजानमा गल्ती भएकोमा हामी दुःखी छौं । माफी समेत चाहन्छौं’, उनीहरुले भने । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीसहित पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी लगायतसँग उनीहरुले माफी मागेका हुन् । महासंघलाई पास नपठाएको र गलत हल्लाबाट महासंघ अध्यक्षसहित पत्रकारको मानमर्दन भएकोमा उनीहरुले माफी मागेका हुन् । कुनै कार्यक्रममा पत्रकारलाई बोलाउने वा नबोलाउने तथा प्रवेश दिने नदिने आयोजकको अधिकार भएको उल्लेख गर्दै महासंघ मकवानपुर अध्यक्ष अधिकारीले पत्रकारको नाम लिएर अनावश्यक र गलत हल्ला फैलाउने काम नगर्न रमाइलो इभेन्ट्ससहितका आयोजकलाई सचेत समेत गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*