रम्तेल र राईलाई रेडियो मकवानपुरको सामुदायिक सम्मान

स्वर्णिम खबर
२३ माघ २०८२, बिहीबार १८:११

२२ माघ, हेटौँडा । रेडियो मकवानपुरले समुदायमा उल्लेखनीय योगदान पु¥याएको भन्दै २ जनालाई सामुदायिक सम्मान २०८२ प्रदान गरेको छ ।
ब्युटिसियन तारा राई तथा वैदिक संस्कृत गुरुकुल संस्थाका संस्थापक अध्यक्ष एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेललाई रेडियो मकवानपुरले सामुदायिक सम्मान २०८२ बाट सम्मान गरेको हो । दुवैलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राई र रम्तेललाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, बागमती प्रदेशसभा सदस्य एवम् सहकारीकी अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायतले उनीलाई सम्मान गरेको हो ।
रम्तेलको अगुवाईमा गुम्बाडाँडा पार्क निर्माण हुनुका साथै हेटौंडा १८ हर्नामाडीमै वैदिक संस्कृत गुरुकुल समेत सञ्चालन भैरहेको छ । गुरुकुलमा दलित तथा गैरदलित बटुकहरुले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालाबाट सुरु भएको गुम्बाडाँडा अहिले मकवानपुरको चर्चित पर्यटकीय स्थलको रुपमा रहेको छ । सम्मानित राई विगत साढे २ दशकदेखि सौन्दर्यकर्मीको रुपमा कार्यरत रहनुभएको छ । उहाँले हालसम्म ६ हजार जना महिलालाई ब्युटिसियनको तालिम प्रदान गरिसक्नुभएको छ । धेरै महिलाहरु अहिले पार्लर सञ्चालन गरी स्वरोजगार रहेका छन् ।


कार्यक्रममा नगर प्रमुख लामाले लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेका नेपालजस्ता देशका लागि सञ्चार पहिलो सर्त भएको उल्लेख गर्दै सञ्चारको महत्व असाधारण रहेको बताउनुभयो । उहाँले सामुदायिक रेडियो सार्वजनिक हितका लागि गैरनाफामूलक उद्देश्यसहित सञ्चालन हुने भएकाले यसको आवश्यकता अझ बढ्दै गएको बताउनुभयो । पछिल्ला वर्षहरूमा देखिएको आर्थिक मन्दीका कारण सामुदायिक रेडियोहरू पनि प्रभावित भएको र कतिपय रेडियो बन्द हुने अवस्थामा पुगेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । प्रविधिको दृष्टिले निजी तथा सामुदायिक रेडियो समान भए पनि सामग्री प्रस्तुति र समाजप्रतिको उत्तरदायित्वमा सामुदायिक रेडियो फरक रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले युद्धमा मात्र नभई ठूला प्राकृतिक विपद्हरूमा पनि रेडियो प्रभावकारी माध्यम बनेको बताउनुभयो ।
त्यसगरी वाषिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित मिडिया कप फुटसल प्रतियोगिताका बिजेता टोली टिम टेलिभिजन र उपबिजेता टोली पत्रकार महासंघ मकवानपुर शाखालाई नगद सहित शिल्ड पनि प्रदान गरिएको थियो । फुटसल प्रतियोगिताको फाइनल खेलमा पत्रकार महासंघलाई पराजित गर्दै टिम टेलिभिजनले उपाधि जितेको हो । विजेता टिमलाई १० हजार र उपविजेता टिमलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो । यसैगरी, यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार रेडियो मकवानपुरका प्राविधिक नवीन आलेमगरलाई ७ हजार रुपैयाँ नगदसहित प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण, मिडिया कप फुटसल प्रतियोगिता, सञ्चारिका समूहलाई स्यानिटरी प्याड वितरण तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरू आयोजना गरिएको स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले बताउनुभयो ।


दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् प्रदेश सभा सदस्य श्रेष्ठले रेडियो मकवानपुर मकवानपुर जिल्लाको दुर्गमदेखि सुगम क्षेत्रसम्मको आवाज बनेको उल्लेख गर्नुयभो । उहाँले रेडियोले पीडित तथा अन्यायमा परेकाहरूको आवाज उठाउँदै आएको दाबी गर्नुभयो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष राम थापा, वडा नं. ११ की वडा अध्यक्ष जुना दाहाल, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण देवकोटा, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटी तथा रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*