आइतबारदेखि प्रदेश युवा सम्मेलन हुँदै
२७ वैशाख, हेटौँडा । बैशाख २८ देखि ३० गतेसम्म प्रदेश राजधानी हेटौंडामा हुने तेस्रो प्रदेश युवा सम्मेलन २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
शनिबार पत्रकार सम्मेलन प्रदेश युवा परिषद् बागमतीले सम्मेलन बारे जानकारी गराएको हो । आइतबारदेखि मङ्गलबारसम्म सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।
यस सम्मेलनले प्रदेश स्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उपाध्यक्ष चौलागाईले बताउनुभयो । सम्मेलनमा ७ वटै प्रदेशबाट ३ सय भन्दा बढी युवा प्रत्यक्ष सहभागी हुने उहाँको भनाई छ ।
‘तेश्रो श्रृखंलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनमा सातै प्रदेशका युवाहरु सहभागी बन्ने वातावरण निर्माण भएको छ । ’ उहाँले भन्नुभयो, ‘ राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषद्को वेबसाइट मार्फत डिजिटल माध्यमबाट लाखौँ युवालाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ । ’
सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् ।
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजन मार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । प्रदेश सरकारले ‘युवा सीपवर्ष २०८१’ घोषण गरेर युवालाई सीप विकास कार्यक्रम संचालन गरिरहेको उहाँको भनाई छ ।सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको समेत उहाँले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित ¥याली गरिने परिषद्ले जनाएको छ । ¥यालीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा लगायत प्रदेशका मन्त्रीहरु समेत सहभागी हुनेछन् । सम्मेलन प्रदेशको दीर्घकालीन युवा सशक्तीकरण अभियानको संस्थागत आधार बन्ने परिषद्को विश्वास रहेको छ । साथै सम्मेलनमा नेपालकै पहिलो सुरुङमार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गर्दै सम्मेलन घोषणापत्र जारी गरिनेछ ।












