प्रतियोगिता सकिएको १५ महिनापछि मकवानपुर गोल्डकपको आयव्यय विवरण सार्वजनिक

६ वैशाख, हेटौँडा । प्रतियोगिता सकिएको १५ महिनापछि छैठौ स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले आयव्यय विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष अमृत लुङबाले फुटबल प्रतियोगिता आर्थिक रुपमा घाटा भएको जानकारी दिनुभयो । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख गरिएको छ ।
प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको कोषाध्यष लुङबाले बताउनुभयो । २०८० माघ १६ गतेदेखि २७ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा एनआरटीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो । पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि पुरुष तर्फ गोल्डकप गर्दै आएको संघले यसवर्ष देखि महिला गोल्डकप गर्ने जानकारी समेत गराइएको छ ।
वैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा तीन विभागिय टिम सहित ५ वटा जिल्लाका क्लवले सहभागिता जनाउने छन् । विभागीय टिमहरु नेपाल आर्मी, नेपाल पुलीस, एपिएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरि ८ वटा क्लवले सहभागिता जनाउने संघका सचिव छवीलाल सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको प्रायोजकका रुपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् ।