धार्मिक शास्त्रले जातीय विभेदलाई प्रोत्साहन नगरेको धार्मिक अगुवाको दाबी
२७ माघ, हेटौँडा । जातिय विभेद अन्त्यका लागि धार्मिक अगुवा र सरोकारवाला निकायबिच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
दलित महिला संघ फेडो मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूले आफ्ना समुदायमा जातिय विभेद नरहेको दाबी गरेका छन् । जातिय विभेदजस्तो गम्भिर अपराध अन्त्यका लागि आफूहरू प्रतिवद्ध रहेको उनीहरुले जनाएका छन् । कुनैपनि धार्मिक शास्त्रले जातीय विभेदलाई प्रोत्साहन नगरेको उनीहरुको दाबी छ । जातीय विभेद गम्भिर अपराध रहेको बताउँदै कृष्ण प्रणामी संघका केन्द्रीय सदस्य केदार प्रसाद चौलागाईले कहीँ कतै विभेद रहेको पाइए त्यो दण्डनीय हुने धारणा राख्नुभयो । धर्मले नभई व्यक्तिको खराब आचरणले विभेद ल्याएको उहाँको भनाई थियो ।
ओम शान्तिका प्रमुख विजय राज सिग्देल, बौद्ध धर्मका मकवानपुर अध्यक्ष दावा छिरिङ लामा, मुस्लिम धर्मका अगुवा अनजार लहकल लगायतले धर्मले व्यक्ति व्यक्ति बिच विभेद नगरेको बताएका थिए ।
कार्यक्रममा सहभागि दलित महिलाहरुले अझैपनि धार्मिक कार्यहरुमा विभेद कायमै रहेको गुनासो गरेका थिए । दलित महिला संघ मकावानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सानुभाई विश्वकर्माले गर्नुभएको थियो ।














