निर्माण व्यवसायीसंग गरेको सहमति सरकारले कार्यान्वयन गरेनः अध्यक्ष सिंह
२० माघ, हेटौँडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफुहरुसंग योजनाको म्याद थप गर्ने सहमति सरकारले अझै कार्यान्वयन नगरेको बताउनुभएको छ ।
सरकारले दिएको आदेशलाई समेत कर्मचारीले पालना गर्न नसक्नु विडम्बापूर्ण भएको अध्यक्ष सिंहको जिकिर थियो । निर्माण व्यवसायी संघ मकवानपुरको २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले गत साउन महिनामा आफुहरुले गरेको आन्दोलनको क्रममा सरकारले व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने आश्वासन दिएको दाबी गर्नुभयो । आफैले दिएको आदेशलाई कार्यान्वयन गर्ने सवालमा भने सरकार कमजोर देखिएको अध्यक्ष सिंहको भनाई थियो । उहाँले सार्वजनिक खरिद ऐन नियमावली संशोधन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष सिंहले ऐन पूर्वाधार मैत्री र विकासमैत्री नभएको उल्लेख गर्नुभयो । २०७७ सालमै संसद्मा पेश भएको ऐनलाई अहिलेसम्म सरकारले संशोधन गर्न नसकेकोमा उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष सिंहले योजनालाई अलपत्र बनाउने काम राजनीतिक नेतृत्वबाटै भएको बताउनुभयो । मुलुकको लागि नभई आफ्नो चुनाव क्षेत्र अन्तर्गतका योजनाहरुको मात्र नेतृत्व गर्ने होड चलिरहेको उहाँको भनाई थियो । निर्माण व्यवसायीहरु प्रति जनतामा रहेको गलत भ्रमलाई चिर्ने गरी काम गर्नुपर्नेमा अध्यक्ष सिंहले जोड दिनुभयो ।
संघका मकवानपुर अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे, उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल, बागमती प्रदेश अध्यक्ष सुमित श्रेष्ठ, सल्लाहकार जयराम लामिछाने, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, मकवानपुरका पूर्व अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।














